bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Ephesians 4
Ephesians 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
1
यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु।
2
पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
3
शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर।
4
एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
5
एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा,
6
एउटै परमेश्वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।
7
तर हामीहरू प्रत्येकलाई ख्रीष्टको नापअनुसार अनुग्रह दिएको छ।
8
यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9
(“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्लो भागमा पनि ओर्लनुभयो।
10
जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्मा उहाँको उपस्थिति रहोस्।)
11
यसरी ख्रीष्टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो
12
सेवाको कामको लागि परमेश्वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्टको शरीरको निर्माण हुन सकोस्;
13
जबसम्म हामी सबै परमेश्वरका पुत्रको ज्ञानमा र विश्वासमा एकता प्राप्त गर्दैनौँ र ख्रीष्टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौँ।
14
तब हामी छालहरूले अगि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हरेक बतास र छालहरूले यताउति हुत्त्याइँदै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौँ।
15
बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्टमा, जो शिर हुनुहुन्छ, हामी हरेक प्रकारले परिपक्वतामा बढ्दै जानेछौँ।
16
उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ; अनि शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफैँ वृद्धि गर्दै र निर्माण हुँदैजान्छ।
17
यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, तिमीहरू अब उसो गैरयहूदीहरूझैँ तिनीहरूका विचारको व्यर्थतामा नजिओ।
18
तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्वरमा पाइने जीवनदेखि अलग भएका छन्।
19
तिनीहरूको मन लाटिएको छ, र सबै किसिमका अशुद्ध काम गर्नका निम्ति तिनीहरू हरेक प्रकारका अशुद्धता र लोभमा परेका छन्।
20
तथापि तिमीहरूले ख्रीष्टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ;
21
यदि तिमीहरूले ख्रीष्टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने,
22
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ;
23
आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ;
24
अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
25
यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ।
26
“रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्,
27
र शैतानलाई कुनै मौका नदेओ!
28
चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
29
तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्नतिमा सहायता पुग्ने र सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल।
30
अनि परमेश्वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ।
31
सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ।
32
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
All chapters:
1
2
3
4
5
6