bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Joel 2
Joel 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
सियोनमा तुरही फुक; मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ। यहूदामा रहने सबै मानिसहरू थरथर कामून्, किनकि याहवेहको दिन आउँदैछ। त्यो दिन अति नजिकै छ—
2
अन्धकारमय र उदासी दिन, कालो बादल र अँध्यारोले ढाकेको दिन। झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तो एउटा शक्तिशाली र विशाल सेना आउँछ; यस्तो त पहिले कहिल्यै भएको थिएन, न त आउने युगहरूमा नै यस्तो हुनेछ।
3
तिनीहरूका अगि आगोले भस्म पार्छ; तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ। तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ; तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ, अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्।
4
तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्।
5
रथहरूका आवाजसँगै पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्।
6
यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; प्रत्येक अनुहार पहेँलो हुन्छ।
7
तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्क्तिबाट हट्दैनन्,
8
तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, सीधा अगाडि बढ्छन्। तिनीहरू आफ्नो पङ्क्ति नबिगारी प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्।
9
तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।
10
तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्।
11
याहवेह आफ्नो सेनाको सामु चर्को सोरमा गर्जनुहुन्छ; उहाँका सेनाहरू अनगन्ती छन्, र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्। याहवेहको दिन महान् छ; यो अति डरलाग्दो छ। त्यो दिन कसले सहन सक्छ र?
12
“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
13
तिमीहरूको कपडा होइन, तर आफ्नो हृदय फटाओ। अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क; किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
14
कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; र प्रशस्त आशिष् दिनुहोला, अनि तिमीहरूले आफ्ना परमेश्वर याहवेहको निम्ति फेरि अन्नबलि र अर्घबलिहरू चढाउन सकौला।
15
सियोन पर्वतमा तुरही फुक, र पवित्र उपवासको घोषणा गर; पवित्र महासभा बोलाओ।
16
मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।
17
याहवेहको सामु सेवा गर्ने पुजारीहरू, मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्लाको पात्र बन्न नदिनुहोस्, राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। मानिसहरूले किन यसो भन्ने मौका पाउन्, ‘तिनीहरूका परमेश्वर कहाँ छन्?’ ”
18
त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।
19
याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्लाको पात्र हुन दिनेछैन।
20
“म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु, त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु, यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमा र पश्चिमी सेनालाई पश्चिमको महासागरमा डुबाइदिनेछु। अनि त्यसको गन्धमाथि उठ्नेछ; त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।” निश्चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
21
हे यहूदाको देश, भयभीत नहो; हर्षित र आनन्दित हो। निश्चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!
22
हे जङ्गली जनावरहरू हो, नडराओ; किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। रूखहरूमा फलहरू फल्दैछन्; नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।
23
हे सियोनका मानिसहरू हो, हर्षित होओ, तिमीहरूका परमेश्वर याहवेहमा रमाओ; किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; किनभने उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।
24
तिमीहरूका खलाहरू अन्नले भरिनेछन्; कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्।
25
“म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— जुन ठूला सलहहरू र जवान सलहहरूले, अथवा अरू सलहहरूका हुलहरूले, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।
26
तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
27
त्यसपछि तिमीहरूले जान्नेछौ, कि म इस्राएलमा छु, म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; अनि मबाहेक कोही पनि परमेश्वर छैन; मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।
28
“अनि यसपछि, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्।
29
ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
30
म आकाशमा र पृथ्वीमा अद्भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू।
31
याहवेहको महान् र डरलाग्दो दिन आउनअगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
32
अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3