bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zephaniah 3
Zephaniah 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
धिक्कार छ, त्यस अत्याचारी सहरलाई, जो विद्रोही र अशुद्ध छे!
2
त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्वरको नजिकमा आउँदिन।
3
त्यसका अधिकारीहरू भोकाएका गर्जने सिंहहरूजस्ता छन्; अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्।
4
त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, र परमेश्वरको नियमलाई तोड्दछन्।
5
त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ; उहाँले कहिल्यै खराबी गर्नुहुन्न। बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ; अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्न, तर पनि अधर्मीले लज्जित हुन जान्दैन।
6
“मैले राष्ट्रहरूलाई नाश गरेको छु; तिनीहरूका बलिया किल्लाहरू ध्वस्त भएका छन्। त्यस सहरबाट भएर कोही हिँड्दैन; मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु; तिनीहरूका सहरहरू बिरानो भएका छन्; ती उजाड र खाली भएका छन्।
7
मैले यरूशलेम सहरको बारेमा भनेँ, ‘निश्चय नै तैँले मेरो भय मान्नेछस्, र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’ तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन, न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्। तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा झन् भ्रष्टतापूर्वक उत्सुक थिए।”
8
याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु, यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो। राष्ट्रहरूलाई एकसाथ भेला गर्न, र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न; अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु— मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु। समस्त पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।
9
“त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्।
10
कूश देशका नदीहरूभन्दा पारिबाट मेरा छरपस्ट भएका मेरा आराधकहरूले मेरा निम्ति भेटी ल्याउनेछन्।
11
त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन; किनकि म तिमीहरूको बीचबाट धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु। तिमीहरू फेरि कहिल्यै मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ।
12
तर म तेरो बीचमा नम्र र दीनहरूलाई छोड्नेछु। इस्राएलका बाँकी रहेकाहरूले याहवेहको नाममा भरोसा गर्नेछन्।
13
इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। तिनीहरूका मुखमा कुनै पनि छलका कुरा पाइनेछैन। तिनीहरू खानेछन्, सुत्नेछन् र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”
14
हे सियोनकी छोरी, गीत गा; हे इस्राएल, उच्च सोरमा करा! हे यरूशलेमकी छोरी, आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्!
15
याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; अब फेरि तैँले कुनै खराबीको डर मान्नुपर्दैन।
16
त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्नेछन्, “हे सियोन, नडरा; तेरा हातहरू लुला हुन नपाऊन्।
17
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ; तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ। उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ; उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन, तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।”
18
“जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, म तँबाट हटाइदिनेछु।
19
त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित म बदला लिनेछु। म लङ्गडाहरूलाई उद्धार गर्नेछु; अनि निर्वासितहरूलाई जम्मा गर्नेछु। तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए, म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु।
20
त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु; म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूका सुदिन तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु, तब म तिमीहरूलाई पृथ्वीका समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,” याहवेह भन्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3