bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Daniel 7
Daniel 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
1
बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे।
2
दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए।
3
त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए।
4
“पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो।
5
“त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’
6
“त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो।
7
“त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए।
8
“जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो।
9
“मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्काहरू जलिरहेका आगोजस्ता थिए।
10
उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्नुभयो, र पुस्तकहरू खोलिए।
11
“त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ।
12
(अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।)
13
“राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो।
14
उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्ट हुनेछैन।
15
“म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो।
16
म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने:
17
‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्।
18
तर त्यो राज्य सर्वोच्च परमेश्वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’
19
“तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो।
20
मैले त्यस जनावरको शिरमाथि भएका दश वटा सिङहरू र अर्को उम्रेको सानो सिङ, जसको अगि दश सिङहरूमध्ये तीन वटा सिङ ढलिगएका थिए; त्यसको बारेमा पनि जान्न चाहेँ—त्यो सिङ, जुनचाहिँ अरूभन्दा बढी प्रभावशाली देखिन्थ्यो र त्यसका आँखा मानिसहरूको जस्तै र अहङ्कारी कुराहरू बोल्ने मुख थियो।
21
अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो,
22
जबसम्म अति प्राचीन आएर सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूको पक्षमा न्याय घोषणा गर्नुभएन; अनि त्यो समय आयो, जब तिनीहरूले राज्य अधिकार गरे।
23
“उहाँले मलाई यो कुरा व्याख्या गरिदिनुभयो: ‘चौथो पशुचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। यो अरू सबै राज्यहरूभन्दा फरक हुनेछ; अनि यसले सारा पृथ्वीलाई खानेछ, र त्यसलाई कुल्चीमिल्ची पारेर धुलोपिठो बनाइदिनेछ।
24
ती दश वटा सिङहरू यस राज्यबाट आउने दश राजाहरू हुन्। त्यसपछि पहिलेको दश राजाभन्दा फरक अर्को एउटा राजा खडा हुनेछ; त्यसले तीन वटा राजाहरूलाई आफ्नो अधीनमा पार्नेछ।
25
त्यस सानो सिङले सर्वोच्च परमेश्वरको विरुद्धमा बोल्नेछ, र त्यसले पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ; अनि तोकिएका समयहरू र व्यवस्थाहरू बदली गर्न कोसिस गर्नेछ। पवित्र मानिसहरू त्यसको हातमा एक समय, समयहरू र आधा समयको निम्ति सुम्पिइनेछन्।
26
“ ‘तर न्यायाधीश बस्नुहुनेछ; अनि त्यसको शक्ति खोसिनेछ र सदासर्वदाका निम्ति त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गरिनेछ।
27
तब सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’
28
“यस दर्शनको अन्त्य यही हो। म, दानिएल आफ्ना विचारहरूद्वारा अति व्याकुल भएँ; अनि मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12