bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hebrews 9
Hebrews 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
अब परमेश्वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो।
2
यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो।
3
दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा-पवित्रस्थान भनिन्थ्यो,
4
जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए।
5
सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ।
6
यसरी यी सबै थोक मिलाइएपछि पुजारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे।
7
तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एक पल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे।
8
यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन।
9
अहिलेको समयको लागि यो एउटा दृष्टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्।
10
ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।
11
यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्टिको भाग होइन।
12
उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकै पल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्त गर्नुभयो।
13
बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने,
14
झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।
15
यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
16
इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ;
17
किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन।
18
यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन।
19
जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए।
20
तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।”
21
यस्तै प्रकारले तिनले वासस्थान र विधिहरूमा प्रयोग गरिने हरेक थोकमाथि रगत छर्के।
22
वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
23
तब यी बलिदानहरूले स्वर्गीय चीजहरूका नक्कलहरूलाई शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्यो।
24
किनकि ख्रीष्ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्वरको उपस्थितिमा देखा पर्नुहुन्छ।
25
हरेक वर्ष प्रधान पुजारी अरूको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गरेजस्तै उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा प्रवेश गर्नुभएन।
26
त्यसो भएको भए ख्रीष्टले संसारको सृष्टिदेखि नै धेरै पल्ट कष्ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ।
27
जसरी मानिसले एक पल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ;
28
त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकै पल्ट बलिदान हुनुभयो; अनि दोस्रो पल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13