bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 8
1 Kings 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
1
तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै अगुवाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई आफ्नो उपस्थितिमा यरूशलेममा भेला हुन बोलाए।
2
इस्राएलका सबै मानिसहरू सातौँ महिना एतानीमको चाडको समयमा एकसाथ राजा सोलोमनकहाँ भेला भए।
3
इस्राएलका सबै प्रधानहरू आइपुगेपछि पुजारीहरूले याहवेहको सन्दुक उठाए।
4
पुजारीहरू र लेवीहरूले याहवेहको सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू बोकेर माथि ल्याए,
5
अनि सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्न पनि सकिँदैनथ्यो।
6
त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए।
7
सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
8
ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्।
9
त्यस सन्दुकभित्र ढुङ्गाका दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो।
10
जब पुजारीहरू पवित्रस्थानबाट हटे, तब याहवेहको मन्दिरभित्र बादल भरियो।
11
अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि याहवेहको महिमाले उहाँको मन्दिर भरियो।
12
तब सोलोमनले भने, “याहवेहले भन्नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ;
13
मैले साँच्चै तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु—तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
14
इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
15
त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्नुभएको थियो,
16
‘मैले आफ्ना मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो, मेरो नाम त्यहाँ रहोस् भनेर मेरो नाममा मन्दिर बनाउनलाई मैले इस्राएलको कुनै पनि कुलबाट सहर चुनिनँ, तर मैले मेरो जाति इस्राएलमाथि शासन गर्न दावीदलाई चुनेँ।’
17
“मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
18
तर याहवेहले मेरा पिता दावीदलाई भन्नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
19
तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
20
“याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
21
मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।”
22
तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए,
23
अनि तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्वर, माथि स्वर्गमा अनि तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन। तपाईं, जसले तपाईंको मार्गमा सम्पूर्ण हृदयले चल्ने आफ्ना सेवकहरूसँग बाँध्नुभएको करार सदा कायम राख्नुहुन्छ।
24
तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
25
“अब हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘तेरा छोराहरू आफ्ना कामहरू र चालहरूमा तँजस्तै होसियार रहे भने मेरो सामु इस्राएलको सिंहासनमा बस्नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’।
26
अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा होस्।
27
“तर के परमेश्वर साँच्चै पृथ्वीमा बास गर्नुहुन्छ? स्वर्गहरू र सबैभन्दा उच्च स्वर्गहरूमा पनि तपाईं अटाउन सक्नुहुन्न भने मैले बनाएको यस मन्दिरमा त झन् कसरी अटाउनुहोला र!
28
तरै पनि हे याहवेह मेरा परमेश्वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले आज गरेको पुकार र प्रार्थना सुन्नुहोस्।
29
यस मन्दिरमा तपाईंको दृष्टि दिनरात रहिरहोस्। यो ठाउँ, जसको बारेमा तपाईंले ‘मेरो नाम त्यहाँ हुनेछ’ भन्नुभएको थियो, ताकि तपाईंको सेवकले यस ठाउँतिर फर्किएर चढाएको प्रार्थना सुन्नुभएको होस्।
30
तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्; र तपाईंले सुन्नुभएपछि क्षमा गर्नुहोस्।
31
“कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
32
तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
33
“जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंलाई प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
34
तब स्वर्गबाट सुन्नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई तपाईंले तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
35
“तपाईंको जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए। अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
36
तब स्वर्गबाट सुन्नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
37
“जब देशमा अनिकाल वा रूढी आउँछ, सुकाउने अथवा ढुसी पर्ने रोग लाग्छ, सलह अथवा फट्याङ्ग्राहरू आउँछन्, अथवा कुनै शत्रुले तिनीहरूको कुनै सहरमा घेरा हाल्यो भने जस्तोसुकै आपत् वा रोग आयो भने पनि,
38
तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो हृदयको कष्टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने
39
तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्। तिनीहरूलाई क्षमा दिनुहोस् र काम गर्नुहोस्; तपाईंले तिनीहरूका हृदय जान्नुभएकोले (किनकि तपाईंले मात्र मानिसहरूको हृदय जान्नुहुन्छ), प्रत्येकसित तिनीहरूको कामअनुसारको व्यवहार गर्नुहोस्।
40
यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
41
“ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको नाम सुनेर टाढा देशबाट आएका छन् भने,
42
किनभने मानिसहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुन्नेछन्। जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
43
तब आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
44
“जब तपाईंका मानिसहरू आफ्ना शत्रुहरूको विरुद्धमा तपाईंले पठाउनुभएको ठाउँमा जान्छन्, तब तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नामका निम्ति बनाएको यस मन्दिरतिर फर्केर याहवेहलाई प्रार्थना गरे भने,
45
स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
46
“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर आफ्नै देश, टाढा वा नजिक लगे भने,
47
तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएकाहरूका देशमा पश्चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्ट काम गरेका छौँ’ भन्छन् भने,
48
अनि तिनीहरू आफूलाई कैद गरेर लैजाने शत्रुहरूको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन् र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर र तपाईंले चुन्नुभएको सहरतिर फर्केर, र मैले तपाईंको नामको खातिर बनाएको मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गरे भने;
49
तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्।
50
तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। तिनीहरूले तपाईंका विरुद्धमा गरेका सबै अपराधहरू क्षमा गर्नुहोस्। तिनीहरूलाई जित्नेहरूलाई तिनीहरूमाथि दया देखाउने बनाइदिनुहोस्।
51
किनकि तिनीहरू इजिप्टबाट अर्थात् फलाम गाल्ने भट्टीबाट तपाईंले निकालेर ल्याउनुभएका तपाईंका जाति र तपाईंका उत्तराधिकारी हुन्।
52
“तपाईंका नजर आफ्नो सेवकको अर्जबिन्ती र तपाईंको प्रजा इस्राएलको अर्जबिन्तीको लागि खुला रहून्। तिनीहरूले जहिले तपाईंमा पुकार गर्दा पनि तपाईंले ध्यानसित सुन्नुहोस्।
53
किनकि हे प्रभु याहवेह, तपाईंले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा आफ्नो सेवक मोशासित घोषणा गर्नुभएझैँ, तपाईंले तिनीहरूलाई आफ्ना उत्तराधिकार बनाउनलाई पृथ्वीका सबै जातिहरूबाट अलग गर्नुभएको थियो।”
54
जब सोलोमनले याहवेहलाई यो प्रार्थना र अर्जबिन्ती गरिसके, तब तिनी याहवेहको वेदीको सामुबाट उठे, जहाँ तिनी घुँडा टेकेर स्वर्गतिर हात फैलाएर बसेका थिए।
55
तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए:
56
“याहवेहको प्रशंसा होस्, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना जाति इस्राएललाई विश्राम दिनुभएको छ। उहाँले आफ्नो सेवक मोशाद्वारा गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएका छैनन्।
57
याहवेह हाम्रा परमेश्वर हाम्रा पितापुर्खाहरूसित रहनुभएझैँ हामीसित पनि रहून्। उहाँले हामीलाई कहिल्यै नछोडून्, र हामीलाई नत्यागून्।
58
उहाँले हाम्रा पितापुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नलाई अनि उहाँकै चालमा हिँड्नलाई उहाँले हाम्रा हृदयहरू आफूतिर फर्काऊन्।
59
मैले याहवेहको सामु प्रार्थनामा बोलेका मेरा यी वचनहरू याहवेह हाम्रा परमेश्वरको नजिक दिनरात रहिरहून्। उहाँले प्रत्येक दिनको खाँचोअनुसार आफ्नो सेवकको र आफ्नो जाति इस्राएलको पक्ष लिऊन्।
60
ताकि पृथ्वीका सारा जातिहरूले याहवेह नै परमेश्वर हुनुहुन्छ, र अरू कुनै ईश्वर छैन भनी जानून्।
61
तिमीहरूका हृदय उहाँका आदेशहरूअनुसार अहिलेझैँ हिँड्न र उहाँका उर्दीहरू पालन गर्नका निम्ति पूर्ण रूपमा समर्पित होऊन्।”
62
तब राजा र तिनीसँग भएका सारा इस्राएलले याहवेहको सामु बलिदानहरू चढाए।
63
सोलोमनले मेलबलिको रूपमा बाइस हजार गाईबस्तु र एक लाख बीस हजार भेडाबाख्राहरू चढाए। यसरी राजा र सारा इस्राएलीहरूले याहवेहको मन्दिरलाई समर्पण गरे।
64
त्यसै दिन राजाले याहवेहको मन्दिरको सामु चोकको बीच भागलाई पवित्र गरे। अनि त्यहाँ तिनले होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए; किनभने होमबलि, अन्नबलि र मेलबलिको बोसो अटाउनलाई याहवेहको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
65
यसकारण सोलोमन र त्यस बेला तिनको साथमा भएका सम्पूर्ण इस्राएलले, त्यो विशाल समुदाय, जो लेबो-हमातदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूसित चाड मनाए। तिनले याहवेह हाम्रा परमेश्वरकै सामु सात दिन र फेरि सात दिन, जम्मा चौध दिन उत्सव मनाए।
66
भोलिपल्ट तिनले मानिसहरूलाई पठाइदिए। तिनीहरूले राजालाई आशीर्वाद दिए। याहवेहले आफ्ना सेवक दावीद र आफ्ना मानिसहरू इस्राएलप्रति गर्नुभएका सबै असल कुराहरूको कारण आनन्दित र खुशी हृदय लिएर तिनीहरू आ-आफ्ना घरतिर गए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22