bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 9
Nehemiah 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
[1-2] त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बस्न भेला भए, यसरी तिनीहरू आफ्ना पापको लागि अफसोस र पछुताउ गर्न चाहन्थे। तिनीहरूले आफैंलाई अरू विदेशीहरूदेखि अलग गरिरहेका थिए। शोक प्रकट गर्दै तिनीहरूले शिरमा धुलो र शरीरमा भाङ्ग्रा लाएका थिए। तब तिनीहरू उभिएर आफैंले गरेका र आफ्ना पिता-पुर्खाले गरेका पापको लागि कायल भए।
3
तीन घण्टासम्म परमेश्वरका व्यवस्था तिनीहरूलाई पढी सुनाइयो। त्यसपछि अरू तीन घण्टासम्म तिनीहरू पापको लागि कायल भए र परमप्रभु आफ्ना परमेश्वरलाई आराधना र दण्डवत् गरिरहे।
4
लेवीहरूका निम्ति एउटा मञ्च बनाइएको थियो र त्यसमाथि येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानी लेवीहरू उभिए। उच्च सोरमा तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे।
5
येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाह लेवीहरूले आराधना गर्न मानिसहरूलाई निम्त्याउँदै यसो भने: “खडा होओ र आफ्ना परमेश्वरलाई प्रशंसा गर! सदाकालको निम्ति उहाँको प्रशंसा गर! मानिसले गरेको प्रशंसा उहाँको महान्तालाई सुहाउँदो त हुँदैन, तापनि हरेकले उहाँको महिमाले भरिएको नामको प्रशंसा गर।”
6
तब इस्राएलीहरूले यसरी प्रार्थना गरे: “हे परमेश्वर, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले स्वर्ग, तारा र आकाश बनाउनुभयो। तपाईंले पृथ्वी, समुद्र र तिनमा भएका हरेक चीज बनाउनुभयो; तपाईंले सबैलाई जीवन दिनुभयो। स्वर्गका शक्तिहरूले शिर निहुराएर तपाईंलाई दण्डवत् गर्छन्।
7
परमप्रभु परमेश्वर! तपाईंले अब्रामलाई चुनेर बेबिलोनियाको ऊरदेखि निकाली ल्याउनुभो, तपाईंले उनको नाम फेरेर उसलाई अब्राहाम नाम दिनुभो।
8
तपाईंले उनलाई आफूप्रति विश्वासयोग्य पाउनुभो, र उनीसँग तपाईंले एउटा प्रतिज्ञा गर्नुभो। उनका सन्तानले बास गर्न तपाईंले कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूले बास गरेका देश दिने करार गर्नुभो, तपाईं विश्वासयोग्य हुनुहुन्छ र आफ्नो प्रतिज्ञा पूरा गर्नुभो।
9
“हाम्रा पुर्खाहरूले मिश्रदेशमा कस्तो दु:ख पाएका थिए; तपाईंले देख्नुभएको थियो; र लाल समुद्रमा तिनीहरूले सहायताको निम्ति गरेको पुकार तपाईंले सुन्नुभो।
10
मिश्रका राजा, भारदार र प्रजाहरूका विरुद्धमा तपाईंले तिनीहरूको देशमा उदेकका कामहरू गर्नुभयो किनभने तिनीहरूले तपाईंका प्रजालाई कसरी सताएका थिए, तपाईंले जान्नुहुन्थ्यो। त्यसरी तपाईंले आफ्नो कीर्ति प्राप्त गर्नुभो, जो आजसम्म छँदैछ।
11
तपाईंले समुद्रको बीचदेखि सुक्खा बाटो तयार गरेर आफ्ना प्रजालाई पार गराउनुभो। तपाईंले ती खेद्नेहरूलाई चाहिँ गहिरो पानीमा डुब्न लाउनुभयो; जसरी उर्लंदो पानीमा ढुङ्गा डुब्छ, त्यसरी नै गहिरो पानीमा डुबेर मरे।
12
तपाईंले तिनीहरूलाई दिउँसो बादल र राती आगोको मुस्लोले बाटो देखाएर डोर्याउनुभयो।
13
सीनै पर्वतमा तपाईं स्वर्गबाट उत्रिनुभयो; तपाईंले आफ्ना प्रजासँग कुरा गर्नुभयो र तिनीहरूलाई असल व्यवस्था र उचित शिक्षा दिनुभयो।
14
तपाईंले तिनीहरूलाई विश्रामको दिन पवित्र राख्न सिकाउनुभयो, र तपाईंको दास मोशाद्वारा तिनीहरूलाई आफ्ना व्यवस्था-विधि दिनुभयो।
15
“तिनीहरू भोकाउँदा तपाईंले स्वर्गबाट रोटी खान दिनुभयो, तिर्खाउँदा चट्टानबाट पानी पिउन दिनुभयो। जुन देश तिनीहरूलाई तपाईंले दिने प्रतिज्ञा गर्नुभएको थियो, तीमाथि अधिकार गर्ने आदेश तपाईंले दिनुभयो।
16
तर हाम्रा पुर्खाहरू घमण्डी र अट्टेरी भए, र तपाईंका आज्ञा मान्न इन्कार गरे।
17
तिनीहरूले आज्ञा मान्न इन्कार गरे, तपाईंले गर्नुभएका सबै काम र अचम्मका कामहरू तिनीहरूले भुले। आफ्नो घमण्डमा फेरि मिश्रदेशको दासत्वमा फर्की जान तिनीहरूले एउटा अगुवा चुने। तर तपाईं क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ, दयामाया गर्नुहुने प्रेमी र रिस गर्न ढिलो परमेश्वर हुनुहुन्छ; तपाईंको दया महान् छ, तिनीहरूलाई त्याग्नुभएन।
18
तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र हामीलाई मिश्रबाट निकाली ल्याउने ईश्वर यिनै हुन् भनेर त्यसको पूजा गरे। हे परमप्रभु, तिनीहरूले तपाईंलाई कत्रो अपमान गरे!
19
तरै पनि तपाईंले तिनीहरूलाई मरुभूमिमा नै फाल्नुभएन, कारण तपाईंको दया महान् छ, तिनीहरूलाई बाटो देखाउने दिउँसोको बादल र रातीको आगोको प्रकाश तपाईंले हटाउनुभएन।
20
आफू असल हुनुभएकोले तिनीहरूलाई तपाईंले शिक्षा दिन छोड्नुभएन; खानलाई मन्न र पिउनलाई पानी दिनुभयो।
21
तपाईंले मरुभूमिमा चालीस वर्षसम्म तिनीहरूलाई चाहिएका कुराहरू दिइरहनुभयो; तिनीहरूका वस्त्र कहिल्यै फाटेनन्, र तिनीहरूका खुट्टा पीडाले सुन्निएनन्।
22
“तपाईंले तिनीहरूलाई जातिहरू, राज्यहरू र तिनीहरूका साँध-सिमानाका देशहरू, तिनीहरूका कब्जामा दिनुभयो। सीहोन राजाको देश हेश्बोन र ओग राजाको देश बाशान तिनीहरूले जिते।
23
तपाईंले तिनीहरूलाई आकाशका ताराहरूजतिकै सन्तान दिनुभयो, तिनीहरूका पुर्खालाई प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले जिते र त्यहाँ बास गरे।
24
तिनीहरूले कनान देश जिते; त्यहाँका मानिसहरूमाथि तपाईंले विजय गर्नुभयो। तपाईंका प्रजा इस्राएलीहरूले तिनीहरूका आफ्नै इच्छाअनुसार गर्नलाई, कनानका राजा र प्रजालाई, तिनीहरूको हातमा सुम्पिदिनुभयो।
25
तपाईंका प्रजाले पर्खालले घेरेका सहरहरू, मलिला भूमि र धनले भरिएका घरहरू, खनेर तयार गरिएका कुवा, भद्राक्ष र अरू फल दिने रूखहरू भरिएका बगैँचाहरू, र दाखबारीहरू आफ्ना हात पारे। पेटभरि खाएर तिनीहरू मोटाए; तपाईंका सबै असल दानको आनन्द तिनीहरूले लिए।
26
“तर तपाईंका प्रजाले विद्रोह गरे र तिनीहरू अनाज्ञाकारी बने; तपाईंको व्यवस्था-विधिदेखि मुख फर्काए। तपाईंतिर फर्कन चेतावनी दिने अगमवक्ताहरूलाई तिनीहरूले हत्या गरे। घरीघरी तिनीहरूले तपाईंको अपमान गरे।
27
त्यसकारण तिनीहरूका शत्रुलाई विजय दिनुभयो र तिनीहरूमाथि राज्य गर्न तपाईंले विजय बनाउनुभयो। आफ्नो विपत्तिको दिनमा तिनीहरूले तपाईंलाई पुकारे, स्वर्गबाट तपाईंले उत्तर दिनुभयो। तिनीहरूलाई शत्रुदेखि बचाउन तपाईंले आफ्ना महान् दयाले अगुवाहरू पठाइदिनुभयो।
28
शान्ति भएपछि तिनीहरूले पाप गरे र फेरि तपाईंले तिनीहरूका शत्रुलाई तिनीहरूमाथि विजयी हुन दिनुभयो। तर जब फेरि तिनीहरूले पश्चात्ताप गरे, स्वर्गमा तपाईंले सुन्नुभयो र बारम्बार आफ्नो ठूला दयाले तिनीहरूलाई बचाउनुभयो।
29
तपाईंको शिक्षा मान्न तिनीहरूलाई चेतावनी दिनुभयो, तर अहङ्कार गरेर तिनीहरूले तपाईंका व्यवस्था-विधि त्यागे। तपाईंको व्यवस्था विधि पालन गर्नु नै जीवनको बाटो पाउनु हो। तर हठी र अट्टेरी भएर तिनीहरूले ती मानेनन्।
30
वर्षेनी तपाईंले तिनीहरूलाई धैर्यसाथ चेतावनी दिनुभयो, तपाईंले आफ्ना अगमवक्ताहरूलाई बोल्ने आत्मा दिनुभयो, तर तपाईंका प्रजा बहिरा नै भए, यसकारण अरू जातिहरूलाई तिनीहरूमाथि विजयी हुन दिनुभयो।
31
र पनि तपाईंको दया महान् छ, तपाईंले तिनीहरूलाई त्याग्नुभएन, नाश पार्नुभएन। तपाईं दयामाया गर्नुहुने र कृपालु परमेश्वर हुनुहुन्छ!
32
“हे परमेश्वर, हाम्रा परमेश्वर! तपाईं कति महान्, कति भययोग्य र कति पराक्रमी! तपाईंले प्रतिज्ञा गर्नुभएको आफ्नो करार विश्वासयोग्यतासाथ पूरा गर्नुहुन्छ। अश्शूरका राजाहरूले हामीलाई सताउन थालेको समयदेखि अहिलेसम्म हामीले अति दु:ख भोगेका छौं! हाम्रा राजा, अगुवा, पूजाहारी, अगमवक्ता, पुर्खाहरू र हाम्रा सबै प्रजाले दु:ख भोगेका छन्, हामीले कति दु:ख भोगेका छौं, सम्झनुहोस्!
33
तपाईंले हामीलाई दण्ड दिनुभएर ठीकै गर्नुभयो, हामीले पाप गरे पनि तपाईं विश्वासयोग्य नै रहनुभएको छ।
34
हाम्रा पिता-पुर्खा, राजा, अगुवा र पूजाहारीहरूले पनि तपाईंका व्यवस्था-विधि मानेका छैनन्। तिनीहरूले तपाईंका आज्ञा र चेतावनीहरू सुनेनन्।
35
तपाईंको आशीर्वादले राजाहरूले तपाईंका प्रजामाथि राज्य गरे, त्यस बेला तपाईंले तिनीहरूलाई दिनुभएको चौडा, मलिला भूमिमा तिनीहरू बास गर्थे; तर पाप गर्न छोडेर तपाईंको सेवा गर्न तिनीहरूले सकेनन्।
36
अब तपाईंले दिनुभएको देश, हामीलाई भोजन दिने यो मलिलो भूमिमा हामी कमारा बनेका छौं।
37
हामीले पाप गर्दा हामीमाथि खटाउनुभएका राजाहरूकहाँ, हाम्रा जमिनका सारा उब्जनी जाँदछ। तिनीहरूले आफ्ना इच्छाअनुसार हामी र हाम्रा गाई-वस्तुमाथि आफ्नो मनखुसी गर्छन् र हामीहरू महा-कष्टमा परेका छौं!”
38
यी सबै भएको कारणले हामी इस्राएलीहरू यो गम्भीर लिखित करार-पत्र दिँदछौं र हाम्रा अगुवा, लेवी र पूजाहारीहरूले यसमा सही छाप गरिदिन्छन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13