bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 14
Mark 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस भन्ने चाड आउन दुई दिन बाँकी थियो। मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूलाई सुटुक्क मार्ने दाउ खोजिरहेका थिए।
2
तर तिनीहरूले यस्तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रभने मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।”
3
येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्याइदिइन्।
4
उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्यसै खेर फालेको?
5
बरु यसलाई बेचेर त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्का आउनेथियो।” यसरी तिनीहरूले ती स्त्रीलाई झपारे।
6
तर येशूले भन्नुभयो, “भइहाल्यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्।
7
गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
8
उनले जे गर्न सकिन्, त्यही गरिन्। यो अत्तर खन्याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्नको लागि तयार पारेकी हुन्।
9
साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्याएको सुसमाचार सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।”
10
येशूका बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेले मुख्य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्पिदिने कुरा गर्यो।
11
यहूदाको कुरा सुनेर मुख्य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो।
12
खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?”
13
येशूले दुई जना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा जाओ, त्यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्छ,
14
त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ भनिदेओ।
15
उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।”
16
चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्नुभएजस्तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्यहीं नै ठीक पारे।
17
बेलुका येशू बाह्र जना चेलाहरूसँग आइपुग्नुभयो।
18
भोज खाँदाखाँदै येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट मसँगै खाने एक जनाले मलाई पक्राइदिनेछ।”
19
यो सुनेर चेलाहरूलाई दु:ख लाग्यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्चै मलाई त भन्नुभएको होइन?”
20
येशूले भन्नुभयो, “तिमीहरू बाह्र जनामध्ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ।
21
धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ! त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो।”
22
खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्नुभयो, “यो लेओ, यो मेरो शरीर हो।”
23
त्यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए।
24
अनि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।
25
साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा नयाँ गरी नपिउञ्जेलसम्म म फेरि दाखमद्य पिउनेछैनँ।”
26
उनीहरूले एउटा भजन गाएपछि जैतुन डाँडातिर लागे।
27
त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्नेछौ किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ— म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्नेछन्।
28
“तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।”
29
यतिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै पनि छोड्नेछैनँ।”
30
येशूले पत्रुसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले दुई पटक बास्नुअघि नै तिमीले चिन्दै चिन्दिनँ भनेर मलाई तीन पल्टसम्म इन्कार गर्नेछौ।”
31
तर पत्रुसले अझै जोड दिएर भने, “तपाईंसँगै मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर भन्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यसै भने।
32
त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीं बसिराख।”
33
तर पत्रुस, याकूब र यूहन्नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्यै छट्पटाउन लाग्यो।
34
अनि उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।”
35
उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी ‘हुन सके आउन लागेको कष्टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्नुभयो।
36
उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो, “हे पिता, हे मेरा पिता, तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ। अबचाहिँ यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।”
37
येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइहालेको? तिमी एक घण्टा पनि जागा बस्न सक्दैनौ?
38
तिमीहरूले ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।”
39
फेरि गएर येशूले अघिकै कुरा दोहोर्याएर प्रार्थना गर्नुभयो।
40
अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि निदाइरहेका रहेछन्। तिनीहरूले आँखा उघार्नै सकेनन् र तिनीहरूलाई उत्तर दिने कुरा पनि केही आएन।
41
तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्पिइने बेला भइसक्यो।
42
अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस आइसकेछ।”
43
येशूले कुरा गर्दागर्दै बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ त्यहाँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पठाएका थिए।
44
पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्वाइँ खान्छु, त्यही नै येशू हो, त्यसलाई नै पक्रिएर पहरा दिई लैजानू।”
45
अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्वाइँ खायो।
46
त्यति बेला नै तिनीहरूले येशूलाई पक्रे।
47
तर उहाँको नजिकै उभिएको एक जनाले तरवार थुत्यो र हानेर प्रधान पूजाहारीको नोकरको कान काटिदियो।
48
येशूले तिनीहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका?
49
मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!”
50
त्यति नै खेर सबै चेलाहरू येशूलाई छोडेर भागिहाले।
51
एउटै मात्र लुगा बेरेको एक जना तन्नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे।
52
तर उसले आफ्नो लुगै छोडेर नाङ्गै भाग्यो।
53
तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्यहाँ भेला भए।
54
पत्रुसचाहिँ येशूलाई परैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनभित्रै पसे अनि पालेहरूसँगै बसेर आगो ताप्न लागे।
55
मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर प्रमाण खोज्न लागे। तर तिनीहरूले एउटै प्रमाण पनि फेला पारेनन्।
56
येशूको विरोधमा धेरैले झूटा साक्षी बके, तर कसैको कुरा पनि मिलेन।
57
त्यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्तो झूटो दोष लगाए,
58
“मानिसले बनाएको यो मन्दिरलाई भत्काएर मानिसले नबनाएको मन्दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्यौं।”
59
तैपनि तिनीहरूको बयान मिलेन।
60
प्रधान पूजाहारीले सबैका अगाडि उभिएर येशूलाई सोधे, “ए, किन जवाफ नदिएको? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा केही भन्नु छैन?”
61
तर येशू चुप नै लाग्नुभयो। उहाँले केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ साँच्चै पवित्र परमेश्वरको पुत्र ख्रीष्ट नै होस् त?”
62
येशूले जवाफ दिनुभयो, “हो, म हुँ अनि एक दिन तपाईंहरूले म मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ!”
63
यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र?
64
यसले गरेको परमेश्वरको निन्दा तिमीहरूले सुनिहाल्यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्यान सजाय दिनैपर्छ!” सबैले भने
65
तिनीहरूमध्ये कति जनाले उहाँलाई थुक्न लागे अनि उहाँको आँखा छोपेर पिट्दै भने, “लौ भन् त, तँ अगमवक्तालाई कसले पिट्यो?” सभाका सिपाहीहरूले पनि उहाँलाई पिट्दै लगे।
66
पत्रुस तल आँगनमै बसिरहेका थिए। त्यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्दैगरेको देखी।
67
उसले पत्रुसलाई नियाल्दै हेरेर भनी, “तिमी पनि त नासरतका येशूसँगै थियौ नि, होइन र?”
68
पत्रुसले जवाफ दिए, “होइन, तिमीले यो कस्तो कुरा गरेकी, म त केही बुझ्दिनँ।” त्यसपछि पत्रुस आँगनको ढोकातिर गए र त्यति नै खेर भाले बास्यो।
69
पत्रुसलाई ढोकानेर पनि देखेर त्यस नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई फेरि भनी, “यिनी पनि येशूकै चेला हुन्!”
70
तर पत्रुसले फेरि पनि होइन भने। केही बेरपछि त्यहाँ उभिने मानिसहरूले पत्रुसलाई फेरि भने, “अब तिमीले होइन भन्न पाउँदैनौ। तिमी पनि गालीली हौ र उनकै चेला हौ।”
71
फेरि पनि पत्रुसले किरिया हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि परोस्, तपाईंले भनेको मान्छेलाई त म चिन्दै चिन्दिनँ।”
72
त्यसो भन्नेबित्तिकै अर्को चोटि पनि भाले बासिहाल्यो र ‘भाले दुई पटक बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दै चिन्दिनँ भन्नेछौ’ भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे अनि उनी धुरुधुरु रुन लागे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16