bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Mark 6
Mark 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
1
त्यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए।
2
विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्ने धेरै मानिसहरूले छक्क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्यो हँ? कस्तो बुद्धि पाएछ! कसरी यस्ता अचम्मका कामहरू गर्न सक्छ?
3
यो त्यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन्।
4
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।”
5
त्यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्मका कामहरू गर्न सक्नुभएन।
6
आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो।
7
त्यति बेला उहाँले आफूले छान्नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा
8
यसो भन्दै पठाउनुभयो, “टेक्ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक।
9
जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।”
10
उहाँले तिनीहरूलाई अझै भन्दैजानुभयो, “कुनै गाउँमा पुग्दा जुन घरमा पस्छौ, त्यो गाउँ नछोडुञ्जेलसम्म त्यही घरमा बस्नू।
11
अनि कुनै ठाउँमा पुग्दा मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् र तिमीहरूका कुरा सुन्न मानेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिंदै पैतालाको धुलो त्यहीं टक्टक्याएर त्यो गाउँ छोडिदेओ।”
12
त्यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले।
13
तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे।
14
येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्दै थिए, “बप्तिस्मा दिने यूहन्ना मरेकोबाट बिउँतेछन्, त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्!”
15
कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्किएछन्,” भन्थे।
16
यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!”
17
त्यसको केही समय पहिले हेरोदले यूहन्नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्नै भाइ फिलिपकी स्वास्नी हेरोदियासलाई ल्याएर राखेका थिए।
18
अनि बप्तिस्मा दिने यूहन्नाले “भाइकी स्वास्नी यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाइरहन्थे।
19
त्यसो हुँदा हेरोदियासलाई यूहन्नासँग रिस उठेको थियो। तिनी यूहन्नालाई मार्न चाहन्थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन्
20
किनभने यूहन्ना धर्मात्मा र पवित्र मानिस हुन् भन्ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्नालाई बचाइराखे। हेरोदले यूहन्नाको कुरा सुन्दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्न मन पराउँथे।
21
आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्यो। हेरोदले आफ्नो जन्मदिनमा ठूलो भोज लगाएका थिए। त्यस भोजमा उनले आफ्ना भारदार, फौजी कप्तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्त्याएका थिए।
22
त्यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ? जे मागे पनि म त्यही दिनेछु।”
23
फेरि राजाले शपथ खाँदै भने, “आधा राज्य नै मागे पनि म तिमीलाई दिन्छु।”
24
तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्तिस्मा दिने यूहन्नाको टाउको माग!” आमाले भनिन्।
25
त्यो केटी झट्टै राजाकहाँ गएर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।”
26
यो सुनेर राजा ज्यादै चिन्तामा परे। तर त्यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्छु भनेको हुनाले फेरि दिन्न भन्न सकेनन्।
27
त्यसकारण उनले ‘यूहन्नाको टाउको काटेर ल्याउनू’ भनेर आफ्नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्यालखानमा गएर यूहन्नाको टाउको काट्यो
28
र थालमा राखेर केटीकहाँ पुर्यायो। केटीले त्यो लगेर आफ्नी आमालाई दिई।
29
यो कुरा सुनेर यूहन्नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए।
30
बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए।
31
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “हामी एकान्त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्म पनि फुर्सद भएन।
32
त्यसकारण उहाँहरू नाउमा चढेर एकान्त ठाउँमा जानुभयो।
33
तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्यहाँ पुगे।
34
येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्नुभयो।
35
साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्यो र एकान्त ठाउँ छ।
36
यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।”
37
येशूले भन्नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्नुहुन्छ?”
38
येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!”
39
त्यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो।
40
मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे।
41
अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो।
42
अनि सबैले अघाउञ्जेल खाए।
43
चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए।
44
त्यहाँ खाने लोग्ने मानिसहरू मात्रै पाँच हजार थिए।
45
झट्टै येशूले चेलाहरूलाई नाउमा चढाएर तालपारि बेथसेदा गाउँमा पठाउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न त्यहीं बस्नुभयो।
46
तिनीहरूलाई बिदा गरिसक्नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्लनुभयो।
47
रात पर्यो। नाउ समुद्रको निकै पर पुगेको थियो। येशूचाहिँ एक्लै किनारमा हुनुहुन्थ्यो।
48
बतास विपरीत दिशाबाट चलेको हुनाले आफ्ना चेलाहरूलाई नाउ चलाउन आपत् परेको येशूले देख्नुभयो। बिहानीपख झिसमिसेमा येशू पानीमाथि हिंडेर चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँ नाउलाई उछिनेर जान लाग्नुभएको थियो।
49
उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्दा चेलाहरू “भूत आयो!” भनेर चिच्च्याउन थाले।
50
तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर!”
51
त्यसपछि उहाँ नाउमा चढ्नुभयो र बतास पनि थामिहाल्यो। यो देखेर चेलाहरू झन् छक्कै परे।
52
येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्यसको पूरा अर्थ बुझ्न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो।
53
येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो।
54
नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले।
55
त्यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्याउन थाले।
56
गाउँ, सहर, बस्ती, जहाँ-जहाँ येशू जानुहुन्थ्यो, त्यहीं-त्यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्थे।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16