bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
John 1
John 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
1
सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो।
2
उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो।
3
वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन।
4
उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो।
5
त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन।
6
परमेश्वरले यूहन्ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो।
7
उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्यालोलाई चिनेर विश्वास गर्न सकून् भनी परमेश्वरले उनलाई पठाइदिनुभएको थियो।
8
यूहन्ना आफैंचाहिँ त्यो उज्यालो थिएनन्, उनी उज्यालोलाई चिनाउन आएका थिए।
9
त्यो उज्यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्यालो हुनुहुन्छ।
10
उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन।
11
उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
12
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो।
13
तिनीहरूले मानिस र उसको शारीरिक इच्छा-अभिलाषाबाट जन्म पाएका होइनन्, तर परमेश्वर नै तिनीहरूका पिता हुनुहुन्छ।
14
वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। हामीले उहाँको ठूलो महिमा देख्यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो।
15
यूहन्नाले उहाँको बारेमा गवाही दिएका थिए। उनले कराएर भने, “मपछि आउनुहुने मभन्दा धेरै महान् हुनुहुन्छ किनभने उहाँ म जन्मिनुभन्दा अघि नै हुनुहुन्थ्यो। मैले भनेको यो कुरा उहाँकै बारेमा हो।”
16
उहाँको भरिपूर्णताबाट हामी सबैले धेरैभन्दा धेरै अनुग्रह पाइरहेका छौं
17
किनभने मोशाबाट हामीले व्यवस्था पाएका थियौं, तर येशू ख्रीष्टद्वारा हामीले परमेश्वरको अनुग्रह र सत्यता पाएका छौं।
18
परमेश्वरलाई कसैले पनि कहिल्यै देखेको छैन। तर परमेश्वरसँग हुनुहुने एकमात्र पुत्रले उहाँलाई देखाउनुभएको छ।
19
यरूशलेमका यहूदी अगुवाहरूले केही पूजाहारी र मन्दिरको सेवामा सघाउने लेवीहरूलाई ‘यूहन्ना को रहेछन्’ भनी बुझ्न पठाए।
20
यूहन्नाले नअन्कनाई सोझै जवाफ दिँदै भने, “म मुक्ति दिने राजा ख्रीष्ट होइनँ।”
21
उनीहरूले सोधे, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” यूहन्नाले भने, “अहँ, म होइनँ।” उनीहरूले सोधे, “के तिमी अगमवक्ता हौ त?” “होइनँ!” यूहन्नाले जवाफ दिए,
22
उनीहरूले भने, “तिमी को हौ, भन न त! हामीलाई पठाउनेकहाँ हामीले जवाफ लैजानुपर्छ। तिमी आफैंलाई को हुँ भन्छौ त?”
23
यूहन्नाले भने, “यशैया अगमवक्ताले भनेझैँ म ‘प्रभु आउनुहुने बाटो तयार पार’ भनेर उजाड-स्थानमा कराउने आवाज हुँ।”
24
ती सोध्न आउनेहरूलाई फरिसीहरूले पठाएका थिए।
25
उनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट पनि होइनौ एलिया पनि होइनौ अनि हामीले आशा गरेका अगमवक्ता पनि होइनौ भने बप्तिस्मा किन दिँदै छौ त?”
26
यूहन्नाले जवाफ दिए, “म त खालि पानीले मात्रै बप्तिस्मा दिन्छु। तर तिमीहरूको माझमा तिमीहरूले नचिनेका एक जना हुनुहुन्छ।
27
मपछि आउनुहुने उहाँ नै हुनुहुन्छ र म उहाँको जुत्ताको फित्ता फुकाउने योग्यको पनि छैनँ।”
28
यी सबै कुरा यर्दन नदीपारि यूहन्नाले बप्तिस्मा दिने गरेको ठाउँ बेथानियामा भएका थिए।
29
भोलिपल्ट येशूलाई आफूतिर आइरहनुभएको देखेर यूहन्नाले भने, “हेर, सारा संसारलाई पापबाट छुट्कारा दिनुहुने परमेश्वरको थुमा!
30
उहाँकै बारेमा मैले भनेको थिएँ, ‘मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा महान् हुनुहुन्छ किनभने उहाँ म जन्मिनुभन्दा अघिदेखि नै हुनुहुन्थ्यो।’
31
उहाँ को हुनुहुन्छ भनी मैले उहाँलाई चिनेको थिइनँ, तर उहाँलाई इस्राएलीहरूको बीचमा चिनाउन नै म बप्तिस्मा दिँदै आएको हुँ।”
32
यूहन्नाले अझै साक्षी दिँदै भने, “मैले परमेश्वरको आत्मालाई स्वर्गबाट ढुकुरजस्तै ओर्लिएर उहाँमाथि बस्नुभएको देखें।
33
मैले त उहाँलाई अझ पनि चिनेको थिइनँ, तर पानीले बप्तिस्मा दिनू भनेर मलाई पठाउनुहुनेले यसो भन्नुभएको थियो, ‘जुन मानिसमाथि तिमीले पवित्र आत्मा आएर बस्नुभएको देखौला, पवित्र आत्माले बप्तिस्मा दिने उहाँ नै हुनुहुन्छ।’
34
पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आउनुभएको मैले देखें र म साक्षी दिँदै भन्छु, उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ।”
35
भोलिपल्ट फेरि यूहन्ना त्यसै ठाउँमा आफ्ना दुई जना चेलासँग उभिरहेका थिए।
36
येशूलाई नजिकैबाट गइरहनुभएको देखेर उनले भने, “हेर, उहाँ नै परमेश्वरको पाठो हुनुहुन्छ।”
37
यो सुनेर ती दुई चेलाहरूले येशूलाई पछ्याए।
38
येशूले फर्केर हेर्दा तिनीहरूले आफूलाई पछ्याएको देख्नुभयो अनि सोध्नुभयो, “तिमीहरू के खोज्दै छौ?” उनीहरूले भने, “गुरु, तपाईं कहाँ बस्नुहुन्छ?”
39
उहाँले जवाफ दिनुभयो, “आएर हेर!” त्यति बेला बेलुकीको चार बज्न लागेको थियो। उनीहरू येशूसँग गए अनि उहाँ बस्नुहुने ठाउँ हेरे र त्यो दिन उहाँसँगै बसे।
40
यूहन्नाको कुरा सुनेर येशूको पछि लाग्ने दुईमध्ये एक जनाचाहिँ सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
41
अलिक बेरपछि आफ्नो दाजु सिमोन पत्रुसलाई भेटेर उनले भने, “हामीले मसीहलाई भेट्यौं।” (हिब्रू भाषामा ‘ख्रीष्ट’ को अर्थ ‘मसीह’ हो।)
42
अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले सिमोनलाई देखेर भन्नुभयो, “तिमी योआनेसका छोरा सिमोन हौ। हेर तिम्रो नाउँ केफास हुनेछ।” (‘केफास’ को अर्थ ‘पत्थर’ हो र यसलाई ग्रीक भाषामा ‘पत्रुस’ भनिन्छ।)
43
भोलिपल्ट येशू गालील क्षेत्रमा जाने निर्णय गरेर निस्कनुभयो। त्यसै बेला उहाँले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, “मेरो पछि लाग।”
44
फिलिपचाहिँ पत्रुस र अन्द्रियासजस्तै बेथसेदा सहरका मानिस थिए।
45
त्यसपछि फिलिपले नथानेललाई भेट्टाएर भने, “धर्मशास्त्रमा मोशा र अगमवक्ताले जसका बारेमा लेखेका थिए, उहाँलाई हामीले भेट्यौं। उहाँ त नासरतमा बस्ने योसेफका छोरा येशू पो हुनुहुँदो रहेछ।”
46
यो सुनेर नथानेलले भने, “के नासरतबाट पनि कुनै राम्रो कुरा आउन सक्छ र?” फिलिपले भने, “आएर हेर!”
47
नथानेललाई आफूतिर आइरहेको देखेर येशूले भन्नुभयो, “हेर, उनी पक्का इस्राएली हुन्, उनमा कुनै छलकपट छैन।”
48
नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्नुभयो?” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई डाक्नुभन्दा अघि तिमी नेभाराको रूखमुनि हुँदा नै मैले तिमीलाई देखिसकेको थिएँ।”
49
नथानेलले भने, “गुरु, तपाईं त परमेश्वरका पुत्र हुनुहुँदो रहेछ, तपाईं इस्राएलीहरूका राजा पो हुनुहुँदो रहेछ।”
50
येशूले भन्नुभयो, “मैले तिमीलाई नेभाराको रूखमुनि देखें भन्दैमा के तिमीले विश्वास गरेका हौ? तिमीले योभन्दा पनि ठूला कुराहरू देख्नेछौ।”
51
येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका स्वर्गदूतहरूलाई मानव पुत्रमा ओर्लिंदै-उक्लिंदैगरेका देख्नेछौ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21