bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 8
1 Kings 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
1
तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई दाऊदको सहर, अर्थात् सियोनबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई यरूशलेममा जम्मा हुनलाई बोलाए।
2
एतानीम महिना, अर्थात् सातौँ महिनामा भएको चाड़को समयमा इस्राएलका सबै मानिसहरू सोलोमन राजाकहाँ भेला भए।
3
जब इस्राएलका सबै धर्म-गुरुहरू आइसके, तब पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए।
4
अनि तिनीहरूले परमप्रभुको सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सामानहरू बोकेर माथि लगे। पूजाहारीहरू र लेवीहरूले ती बोकेर माथि लगे,
5
अनि सोलोमन राजा र इस्राएलका जम्मै समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगिन्ती भेड़ाहरू र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्दूकको सामुन्ने थिए।
6
तब पूजाहारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे।
7
सन्दूक राखिएको ठाउँको माथि करूबहरूका पखेटा फैलिएका थिए, र सन्दूक र त्यसका डन्डाहरूमाथि करूबहरूका पखेटाले छाया पारेका थिए।
8
यी डन्डाहरू यति लामा थिए, कि तिनीहरूका टुप्पाहरू भित्री पवित्रस्थानको सामुको पवित्रस्थानबाट देखिन सकिन्थे, तर पवित्रस्थानको बाहिरबाट देखिँदैनथे, र ती आजसम्मै त्यहाँ छन्।
9
त्यस सन्दूकभित्र अरू केही थिएन, केवल दुई वटा शिला-पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्दूकमा राखेका थिए, जहाँ इस्राएलीहरू मिश्रदेश छोड़ेर आउँदा परमप्रभुले तिनीहरूसँग करार बाँध्नुभएको थियो।
10
जब पूजाहारीहरू पवित्रस्थानबाट बाहिर आए, तब परमप्रभुको मन्दिर बादलले भरियो।
11
अनि पूजाहारीहरूले त्यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन्, किनभने परमप्रभुको महिमाले मन्दिर भरिएको थियो।
12
तब सोलोमनले भने, “परमप्रभुले भन्नुभएको छ कि उहाँ अँध्यारो बादलमा बस्नुहुन्छ।
13
तपाईं सदासर्वदै रहनलाई मैले तपाईंको निम्ति एउटा शोभनीय मन्दिर निर्माण गरेको छु।”
14
जब इस्राएलका जम्मै समुदाय त्यहाँ उभिरहेका थिए, तब राजाले फर्केर तिनीहरूलाई आशीर्वाद दिए,
15
र भने: “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्नै मुखले बोल्नुभएको प्रतिज्ञा आफ्नो हातले पूरा गर्नुभएको छ। किनकि उहाँले यसो भन्नुभयो,
16
‘मेरो प्रजा इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याएको दिनदेखि यसो इस्राएलीहरूका सबै कुलहरूको कुनै पनि सहरलाई मेरो नाउँ रहनलाई एउटा मन्दिर बनाउन भनी मैले रोजेको छैनँ, तर मेरो प्रजा इस्राएलमाथि शासन गर्नलाई मैले दाऊदलाई छानेको छु’।
17
“परमप्रभुका नाउँको निम्ति, इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो।
18
तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ।
19
तापनि तैंले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो छोराले, जो तेरो आफ्नै मासु र रगतको हो, त्यसले नै त्यो मेरो नाउँको निम्ति बनाउनेछ’।
20
“परमप्रभुले गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पिता दाऊदको म उत्तराधिकारी भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँको सट्टामा इस्राएलको सिंहासनमा म बसेको छु, र परमप्रभुका नाउँको निम्ति, इस्राएलका परमेश्वरको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु।
21
मैले त्यहाँ परमप्रभुका करारको सन्दूकको लागि एउटा ठाउँ अलग्गै राखेको छु, जुन करार हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुँदा उहाँले तिनीहरूसँग बाँध्नुभएको थियो।”
22
तब जम्मै इस्राएलका समुदायको सामुन्ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्ना हात स्वर्गतिर उचाले,
23
र भने: “हे परमप्रभु, इस्राएलका परमेश्वर, माथि स्वर्गमा र तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन— तपाईं, जसले आफ्नो प्रेमको करार आफ्ना ती दासहरूसँग बाँध्नुहुन्छ, जो तपाईंको मार्गमा सम्पूर्ण हृदयले निरन्तर लागिरहन्छन्।
24
तपाईंले आफ्ना दास मेरा पिता दाऊदसँग गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ।
25
“यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्वर, आफ्ना दास दाऊद मेरा पितासँग गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्नुभयो, यदि तँ हिँड़ेझैँ तेरा छोराहरू आफ्ना चालहरूमा होशियारीसित मेरो सामुन्ने हिँड़े भने, इस्राएलको सिंहासनमा बस्नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।
26
अनि अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास मेरा पिता दाऊदलाई भन्नुभएको वचन पूरा होस्।
27
“तर के परमेश्वर निश्चय नै पृथ्वीमा वास गर्नुहुन्छ र? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ!
28
तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो दासको प्रार्थना र दयाको निम्ति उसको पुकारमा ध्यान दिनुहोस्। आजको दिन तपाईंकै उपस्थितिमा तपाईंको दासले गरेको पुकारा र प्रार्थना सुन्नुहोस्।
29
तपाईंको नजर यस मन्दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्नुभएको थियो, ‘मेरो नाउँ त्यहाँ रहनेछ,’ ताकि तपाईंको दासले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्नुहोस्।
30
आफ्नो दास र आफ्नो प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्नुहोस्। आफ्नो वासस्थान स्वर्गबाट सुन्नुहोस्, र जब तपाईंले सुन्नुहुन्छ, तब क्षमा गर्नुहोस्।
31
“यदि कुनै मानिसले आफ्नो छिमेकीको खराबी गरेर शपथ खान लगाइयो भने, र त्यो शपथ यस मन्दिरभित्र तपाईंका वेदीको सामुन्ने खायो भने,
32
तब तपाईंले स्वर्गबाट सुनेर कार्य गर्नुहोस्। दोषीलाई दोषी ठहराउँदै र त्यसका कामहरूको प्रतिफल त्यसकै शिरमा ल्याउँदै आफ्ना दासहरूका बीचमा न्याय गर्नुहोस्। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्यसको निर्दोषतालाई स्थिर गराउनुहोस्।
33
“जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेर तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित भएका छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्दिरमा प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन्,
34
तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्, र तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काई ल्याउनुहोस्।
35
“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्वीकार गरी आफ्ना पाप त्यागेर त्यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,
36
तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना दासहरू, आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्। तिनीहरू हिँड्नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्ना प्रजालाई तिनीहरूको उत्तराधिकारीको निम्ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्।”
37
“जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने कि ढुसी पार्ने रोग लाग्छ, कि सलहहरू र फटेङ्ग्राहरू आउँछन्, अथवा शत्रुहरूले तिनीहरूको कुनै सहरमा घेरा हाल्छन्— जुन आपत् वा महामारी आए पनि—
38
अनि जब तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढ़ाउँछन् र हरेकले आफ्नो हृदयको दु:ख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाल्छ, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्। क्षमा गर्नुहोस् र काम गर्नुहोस्।
39
तपाईंले हरेक मानिसको हृदय जान्नुभएको हुनाले त्यसलाई त्यसका कामअनुसारको प्रतिफल दिनुहोस् (किनकि तपाईंले मात्र सबै मानिसहरूको हृदयलाई जान्नुहुन्छ।),
40
ताकि तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूको सारा समयभरि नै तिनीहरूले तपाईंको डर मानून्।
41
“तपाईंका प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईंको नाउँ सुनेर टाढ़ा देशबाट आएको छ भने—
42
किनभने मानिसहरूले तपाईंको महान् नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेको पाखुराको विषयमा सुन्नेछन्— जब त्यो आएर यस मन्दिरतिर फर्केर त्यसले प्रार्थना गर्छ,
43
तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस्, र त्यस विदेशीले मागेको कुरा दिनुहोस्, ताकि तपाईंको प्रजा इस्राएलले झैँ पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँलाई जानून् र तपाईंको भय मानून्, र मैले बनाएको यस भवनमा तपाईंको नाउँ राखिएको छ भनी जानून्।
44
“तपाईंले जहाँ पठाउनुहुन्छ, त्यहाँ तपाईंका प्रजा आफ्ना कुनै शत्रुहरूका विरुद्ध युद्ध गर्न जाँदा तपाईंले चुन्नुभएको यस सहर र मैले तपाईंका नाउँको निम्ति बनाएको यस मन्दिरतिर फर्केर जब तिनीहरूले प्रार्थना गर्छन्,
45
तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती स्वर्गबाट सुन्नुहोस् र तिनीहरूको कारणलाई समर्थन गर्नुहोस्।
46
“जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्— किनकि पाप नगर्ने मानिस कोही पनि छैन— र तपाईं तिनीहरूसित रिसाएर तिनीहरूलाई शत्रुको हातमा दिनुहुन्छ र त्यसले तिनीहरूलाई टाढ़ा वा नजिक आफ्नो देशमा कैद गरेर लग्छ,
47
र यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकोले गर्दा मन बद्लेर त्यस देशमा पश्चात्ताप गरी तपाईंलाई अर्ज-बिन्ती गरी यसो भने भनेदेखि, ‘हामीले पाप गर्यौं, हामीले भूल गर्यौं, र हामीले खराब काम गर्यौं,’
48
र यदि तिनीहरूलाई कैद गरेर लाने तिनीहरूका शत्रुहरूको देशमा तिनीहरू फेरि आफ्ना सारा हृदय र प्राणले तपाईंतिर फर्केर तिनीहरूका पिता-पुर्खाहरूलाई तपाईंले दिनुभएको देश र तपाईंले चुन्नुभएको यो सहर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तपाईंमा प्रार्थना गरे भने,
49
तब आफ्नो वासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती सुन्नुहोस् र तिनीहरूको कारणलाई समर्थन गरिदिनुहोस्।
50
अनि तपाईंको विरुद्धमा पाप गरेका तपाईंका प्रजालाई माफ दिनुहोस्, र तिनीहरूका सबै अपराधहरू क्षमा गर्नुहोस्, र तिनीहरूका विजयीहरूलाई तिनीहरूमाथि कृपा देखाउन लगाउनुहोस्।
51
किनकि तिनीहरू तपाईंकै उत्तराधिकार, तपाईंकै प्रजा हुन्, जसलाई तपाईंले मिश्रदेश, अर्थात् फलाम गाल्ने भट्टीबाट निकालेर ल्याउनुभयो।
52
“तपाईंको नजर आफ्नो दासको अर्ज-बिन्ती, र तपाईंको प्रजा इस्राएलको अर्ज-बिन्तीको लागि खुला रहोस्, र तिनीहरूले तपाईंमा पुकारा गर्दा तपाईंले ध्यानसित सुन्नुहोस्।
53
किनकि तपाईंले तिनीहरूलाई आफ्नो उत्तराधिकार हुनलाई संसारका सबै जाति-जातिहरूका बीचबाट अलग गर्नुभयो, जसरी हाम्रा पिता-पुर्खाहरूलाई, हे परमप्रभु परमेश्वर मिश्रदेशबाट निकालेर ल्याउनुहुँदा आफ्ना दास मोशाद्वारा घोषणा गर्नुभएको थियो।”
54
जब सोलोमनले परमप्रभुमा यी प्रार्थना र नम्र-निवेदन गरिसिद्ध्याए, तब तिनी परमप्रभुका वेदीको अगिबाट उठे, जहाँ तिनी स्वर्गतिर आफ्ना हात उठाएर घुँड़ा टेकेका थिए।
55
तिनी खड़ा भए र ठूलो सोरले यसो भन्दै इस्राएलका सबै समुदायलाई आशीर्वाद दिए:
56
“आफ्नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुभएबमोजिम विश्राम दिनुहुने परमप्रभुलाई प्रशंसा होस्। आफ्ना दास मोशाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन।
57
हाम्रा पुर्खाहरूका साथमा हुनुभएझैँ परमप्रभु हाम्रा परमेश्वर हामीसँग होऊन्। उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून्।
58
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू, आदेशहरू र विधिहरू पालन गर्दै उहाँका सबै मार्गहरूमा हिँड्नलाई उहाँले हाम्रा हृदय आफूतिर फर्काऊन्।
59
अनि मेरा यी वचनहरू जो मैले परमप्रभुको सामुन्ने प्रार्थना गरेको छु, रातदिन परमप्रभु हाम्रा परमेश्वरकहाँ रहून्, कि दिन प्रतिदिनको खाँचोअनुसार आफ्नो दासको र आफ्नो प्रजा इस्राएलको कारण समर्थन गरिदेऊन्,
60
ताकि पृथ्वीका सबै मानिसहरूले जानून् कि परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही पनि ईश्वर छैन।
61
तर आजको समयझैँ उहाँका उर्दीहरूद्वारा बाँच्न र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीहरूका हृदय परमप्रभु हाम्रा परमेश्वरमा सम्पूर्ण रूपले सुम्पिनैपर्छ।”
62
तब राजा र तिनीसँग भएका सबै इस्राएलले परमप्रभुको सामुन्ने बलिदानहरू चढ़ाए।
63
सोलोमनले बाईस हजार गाईबस्तु र एक लाख बीस हजार भेड़ाबाख्राहरू परमप्रभुमा मेलबलिको निम्ति चढ़ाए। यसरी नै राजा र सबै इस्राएलीहरूले परमप्रभुको मन्दिरलाई समर्पण गरे।
64
त्यसै दिन राजाले परमप्रभुका मन्दिरको सामु चोकका बीचको भागलाई पनि अर्पण गरे, र तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढ़ाए, किनभने होमबलि, अन्नबलि र मेलबलिको बोसो अटाउनलाई परमप्रभुको सामु भएको काँसाको वेदी साह्रै सानो थियो।
65
अनि सोलोमन र तिनीसँग भएका सबै इस्राएलले, लेबो-हमातदेखि मिश्रको खोलासम्मको पूरा देशबाट एक ठूलो समुदायले त्यसै बेला चाड़ मनाए। तिनीहरूले सात दिनसम्म र अझै सात दिन गरी जम्मा चौध दिनसम्म परमप्रभु हाम्रा परमेश्वरको सामुन्ने चाड़ मान्दैरहे।
66
त्यसको भोलिपल्ट तिनले मानिसहरूलाई बिदा दिए। तिनीहरूले राजालाई आशीर्वाद दिए, र परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो प्रजा इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारणले हृदय हर्षित र आनन्दित हुँदै तिनीहरू आ-आफ्नो घर लागे।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22