bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Kings 8
1 Kings 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
1
दाऊदको सहर सियोनबाट परमप्रभुको करारको सन्दुक मन्दिरमा लैजान सोलोमन राजाले इस्राएलका सारा कुल र परिवार-परिवारका अगुवाहरूलाई यरूशलेममा आफूकहाँ बोलाउन पठाए।
2
तिनीहरू सबै एतानीम महिनामा छाप्रो-बासको चाड भएको बेलामा भेला भए।
3
सबै अगुवाहरू भेला भएपछि पूजाहारीहरूले करारको सन्दुक बोके
4
र मन्दिरमा लगे। पूजाहारी र लेवीहरूले परमप्रभुको पवित्र पाल र त्यसका सारा सर-सामान पनि मन्दिरमा पुर्याए।
5
सोलोमन राजा र भेला भएका सबै मानिसहरू करारको सन्दुकअघि भेला भए र धेरै-धेरै भेडा र गोरुहरू गन्न नसकिने सङ्ख्यामा बलि चढाए।
6
त्यसपछि पूजाहारीहरूले करारको सन्दुक मन्दिरभित्र लगे र महा-पवित्रस्थानमा स्वर्गदूतहरूका मुन्तिर राखे।
7
तिनीहरूका फैलिएका पखेटाहरूले सन्दुक र त्यसलाई बोक्ने डन्डाहरू ढाक्दथे।
8
ती डण्डाका दुई छेउ महा-पवित्रस्थानको सामुन्नेमा खडा हुने व्यक्तिले देख्न सक्थ्यो तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। (ती डण्डाहरू आज पनि त्यहाँ छँदैछन्।)
9
करारको सन्दुकभित्र मोशाले सीनै पर्वतमा राखेका एक जोडी पत्थरका पाटीहरूबाहेक अरू केही कुरा थिएन। इस्राएलका मानिसहरू मिश्रबाट आइरहेका बेलामा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको थियो।
10
पूजाहारी मन्दिरबाट निस्केर आएको बेलामा
11
परमप्रभुको उपस्थितिले आँखा तिरमिराउने गरी चम्कने ज्योतिले भरिएको बादलले मन्दिर भरियो र तिनीहरू आफ्ना सेवाकार्य गर्न त्यहाँ फर्किजान सकेनन्।
12
तब सोलोमनले यसरी प्रार्थना गरे: “परमप्रभु, तपाईंले सूर्यलाई आकाशमा राख्नुभयो, तर आफूले चाहिँ बाक्लो बादलमा बस्नलाई रोज्नुभयो।
13
अब मैले तपाईंको लागि सदाकाल बास गर्नलाई एउटा वैभवशाली मन्दिर बनाएको छु।”
14
मानिसहरू त्यहीँ उभिरहेका थिए। सोलोमनले फर्केर तिनीहरूलाई हेरे र तिनीहरूले परमेश्वरको आशीर्वाद पाऊन् भनेर बिन्ती गरे।
15
[15-16] उनले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर! उहाँले मेरा पिता दाऊदलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो, ‘मैले मेरा प्रजालाई मिश्रबाट निकाली ल्याएको समयदेखि अझसम्म मेरो आराधना गर्नलाई सारा इस्राएल देशमा मन्दिर बनाउने सहर मैले छानेको छैनँ। तर मैले तँलाई मेरा प्रजामाथि राज्य गर्न छानें। यो करार उहाँले पूरा गर्नुभएको छ।”
17
सोलोमनले भन्दैगए, “परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न मेरा बुबा दाऊदले एउटा मन्दिर बनाउने इच्छा गर्नुभएको थियो।
18
तर परमप्रभुले उनलाई ‘मेरो निम्ति मन्दिर बनाउने इच्छा गरेर तैँले ठीकै गरिस्,
19
तर तैँले त्यो बनाउन पाउनेछैनस्। तेरै छोराले मेरो मन्दिर बनाउनेछ’ भन्नुभयो।’
20
“अहिले परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पितापछि म इस्राएलका राजा भएँ र परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न एउटा मन्दिर पनि बनाएको छु।
21
हाम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउँदा करार बाँध्दै परमप्रभुले दिनुभएका पत्थरका पाटीहरू राखेका करारको सन्दुक राख्न मैले मन्दिरमा पनि अलग्गै एउटा ठाउँ छुट्ट्याएर राखेको छु।”
22
तब मानिसहरूका सामुन्नेमा सोलोमन गएर वेदीका अघि खडा भए र आफ्ना हात उचालेर
23
प्रार्थना गरे, “परमप्रभु, इस्राएलका परमेश्वर! माथि स्वर्ग र मुनि पृथ्वीमा तपाईंजस्तो परमेश्वर अरू कोही छैनन्। तपाईंले आफ्ना प्रजासित आफ्नो करार पूरा गर्नुहुन्छ र तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले तपाईंको आज्ञापालन गरेर जीवन बिताए भने तिनीहरूलाई आफ्नो प्रेम देखाउनुहुन्छ।
24
मेरा पिता दाऊदसित गर्नुभएको प्रतिज्ञा तपाईंले पूरा गर्नुभएको छ, आज त्यो एक-एक गरी पूरा भयो।
25
अब हे परमप्रभु इस्राएलका परमेश्वर! म बिन्ती गर्छु कि तपाईंले मेरा पितासित गर्नुभएका अरू प्रतिज्ञाहरू पनि पूरा गर्नुहोस्। मेरा पिताले झैँ तिनका सन्तानले पनि सावधानीसाथ तपाईंका आज्ञाहरू पालन गरे भने ती सन्तानबाट एक जना सधैँ इस्राएलका राजा भई राज्य गर्नेछ भनी तपाईंले उनलाई भन्नुभएको थियो
26
र अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक मेरा पितालाई दिनुभएका यी सबै प्रतिज्ञा पूरा हुन दिनुहोस्।
27
“तर के परमेश्वर, के तपाईं साँच्चै पृथ्वीमा बास गर्न सक्नुहुन्छ र? सारा स्वर्ग पनि तपाईंलाई बास गर्नको लागि सानो हुन्छ, मैले बनाएको यो मन्दिर कसरी तपाईंलाई पुग्दो हुन सक्छ?
28
परमप्रभु मेरा परमेश्वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्नुहोस् र मैले आज चढाएको बिन्ती मन्जुर गर्नुहोस्।
29
तपाईंको आराधना होस् भनेर चुन्नुभएको यस मन्दिरलाई रातदिन रखवाली गर्नुहोस्। यस मन्दिरतिर फर्केर प्रार्थना गर्दा तपाईंले मेरो अर्जबिन्ती सुन्नुहोस्।
30
मैले र तपाईंका प्रजाले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा हाम्रा बिन्ती सुन्नुहोस्। स्वर्गमा आफ्नो बासस्थानबाट हाम्रो बिन्ती सुन्नुहोस् र हाम्रा पाप क्षमा गर्नुहोस्।
31
“कुनै मानिसका विरुद्धमा अपराध गरेको दोष लाएर कसैलाई यस मन्दिरमा तपाईंको वेदीअघि म निर्दोष छु भनी किरिया खान ल्यायो भने
32
हे परमप्रभु, स्वर्गमा तपाईंले त्यो सुन्नुहोस् र आफ्ना दासको न्याय गर्नुहोस्। दोषीलाई उचित दण्ड दिनुहोस् र निर्दोषलाई छुटकारा दिनुहोस्।
33
“तपाईंको विरुद्धमा पाप गरेकाले तपाईंका प्रजा इस्राएल आफ्ना शत्रुका अघि हार खाएर तपाईंतिर फर्की यस मन्दिरमा आएर क्षमा माग्दै दीनतासाथ तपाईंलाई प्रार्थना गर्छन् भने
34
स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस्। आफ्ना प्रजाका पाप क्षमा गर्नुहोस् र तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशमा फर्काई ल्याउनुहोस्।
35
“तपाईंको प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले तपाईंले वर्षा बन्द गरिदिनुभयो र तपाईंको प्रजा पश्चात्ताप गर्दै नम्रतापूर्वक तपाईंलाई प्रार्थना गर्दै यस मन्दिरतिर फर्के भने
36
स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस्। इस्राएलका राजा र प्रजाका पाप क्षमा गरिदिनुहोस्। तिनीहरूलाई जे कुरा ठीक छ, त्यो गर्न सिकाउनुहोस् र त्यसपछि हे परमप्रभु, तपाईंले आफ्ना प्रजालाई सदाकाल अधिकार गर्न दिनुभएको आफ्नो यस देशमा फेरि वर्षा ल्याउनुहोस्।
37
“यस देशमा अनिकाल वा महामारी पर्दा, लू वा सलहका बथानले अन्न नाश पार्दा, तपाईंका प्रजामाथि तिनका शत्रुहरू आइलाग्दा र तिनका माझमा रुढी चल्दा,
38
तिनीहरूका बिन्ती-प्रार्थना सुन्नुहोस्। तपाईंका इस्राएली प्रजामध्ये कसैले हृदयदेखि शोक गरेर यो मन्दिरतिर हात फैलाएर बिन्ती गर्यो भने
39
तिनीहरूको प्रार्थना सुन्नुहोस्। स्वर्गमा आफ्नो बासस्थानमा तिनीहरूको बिन्ती सुनेर तिनीहरूलाई क्षमा र सहायता गर्नुहोस्। तपाईंले मात्र मानिसका हृदयका सोच-विचारहरू जान्नुहुन्छ। हरेक व्यक्तिसित जस्तो उचित छ, त्यस्तो व्यवहार गर्नुहोस्
40
र तपाईंका प्रजाले जहिलेसम्म तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा बास गर्छन्, तहिलेसम्म सदा तपाईंको आज्ञापालन गरून्।
41
[41-42] “कुनै टाढा देशमा बास गर्ने विदेशी तपाईंको नाम र तपाईंले आफ्ना प्रजाका निम्ति गर्नुभएको महान् कार्यहरूबारे सुनेर जब तपाईंलाई पुज्न र यस मन्दिरमा प्रार्थना गर्नलाई आउँछ,
43
तब उसको प्रार्थना सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तपाईंले उसको बिन्ती सुनेर ग्रहण गर्नुहोस् र संसारका सबै जातिहरूले पनि तपाईंलाई इस्राएलीहरूले झैँ चिनून् र तपाईंको आज्ञा मानून्। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले बनाएको यस मन्दिरमा नै तपाईंको आराधना हुनुपर्छ।
44
“जब तपाईंले आफ्ना प्रजालाई तिनीहरूका शत्रुहरूका विरुद्धमा लडाइँ गर्न आज्ञा गर्नुहुन्छ र तिनीहरू जहाँ भए पनि तिनीहरूले जब तपाईंले चुन्नुभएको यो सहर र मैले बनाएको यो मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन्
45
तब तिनीहरूको बिन्ती सुन्नुहोस्। स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्।
46
“जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गर्छन् किनकि पाप नगर्ने कोही पनि छैन र तपाईंले आफ्नो क्रोधमा तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि जित्न दिनुहुन्छ र तिनीहरूलाई कैद गरी टाढाको देशमा लैजान दिए पनि
47
आफ्ना प्रजाको प्रार्थना सुन्नुहोस्। त्यस देशमा आफ्ना पाप र दुष्टताबाट कायल हुँदै यदि तिनीहरूले पश्चात्ताप गरेर तपाईंलाई प्रार्थना गरे भने हे परमप्रभु, तिनीहरूको बिन्ती सुन्नुहोस्।
48
त्यस देशमा साँचो र इमानदार हृदयले पश्चात्ताप गर्दै यदि तिनीहरूले तपाईंले हाम्रा पुर्खाहरूलाई दिनुभएको यो देश, आफूले चुन्नुभएको यो सहर र मैले तपाईंको निम्ति बनाएको यो मन्दिरतिर फर्केर तपाईंलाई प्रार्थना गर्छन् भने
49
तिनीहरूको बिन्ती सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गमा तिनीहरूको बिन्ती सुनेर तिनीहरूमाथि कृपा गर्नुहोस्।
50
तपाईंको विरुद्धमा गरेका तिनीहरूका सबै पाप र विद्रोहहरू क्षमा गरिदिनुहोस् र तिनीहरूसित तिनका शत्रुहरूलाई दयाको व्यवहार गर्न लगाउनुहोस्।
51
तिनीहरू तपाईंका निज प्रजा हुन्, जसलाई तपाईंले आगोको भट्टीजस्तो देश मिश्रबाट निकाली ल्याउनुभयो।
52
“सार्वभौम परमप्रभु, सधैँ तपाईंले आफ्ना प्रजा इस्राएल र तिनका राजामाथि कृपादृष्टि गर्नुहोस् र तिनीहरूले तपाईंलाई सहायता मागेर पुकारा गरेका समयमा तिनीहरूको प्रार्थना सुन्नुहोस्।
53
हाम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउनुहुँदा आफ्नो सेवक मोशाद्वारा तिनीहरूलाई भन्नुभएअनुसार तिनीहरूलाई तपाईंले सबै जातिहरूका बीचबाट आफ्नो निज प्रजा हुनलाई चुन्नुभयो।”
54
सोलोमनले परमप्रभुलाई अर्जबिन्ती गरिसकेपछि आफ्ना हात उचालेर घुँडा टेकी वेदीको सामुन्ने तिनी खडा भए।
55
सोर उचालेर तिनले त्यहाँ भेला भएका सबै मानिसहरूमाथि परमेश्वरको आशीर्वाद मागेर बिन्ती गरे। तिनले भने,
56
“परमप्रभुको प्रशंसा गर, जसले आफ्नो प्रतिज्ञाअनुसार आफ्ना प्रजालाई शान्ति दिनुभएको छ। आफ्नो सेवक मोशाद्वारा ठूलो मनले दिनुभएको सबै प्रतिज्ञाहरू उहाँले पूरा गर्नुभएको छ।
57
परमप्रभु हाम्रा परमेश्वर हामीसित हाम्रा पुर्खाहरूसित झैँ रहनुभएको होस्। उहाँले कहिल्यै हामीलाई नछोड्नुभएको होस् वा नत्याग्नुभएको होस्।
58
उहाँले आफूप्रति आज्ञाकारी बनाउनुभएको होस् र हामी सधैँ उहाँको इच्छाअनुसार जिउन सकौं र उहाँले हाम्रा पिता-पुर्खालाई दिनुभएका सबै आज्ञा र नियमहरू पालन गर्न सकौं।
59
मैले आज चढाएका यी अर्जबिन्तीहरू र यो प्रार्थना परमप्रभु हाम्रा परमेश्वरले सबै समय याद राख्नुभएको होस्। उहाँ सदैव इस्राएलका प्रजा र तिनका राजाप्रति तिनीहरूको दिन-दिनको खाँचोअनुसार कृपालु हुनुभएको होस्।
60
यसरी परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ, अरू कोही ईश्वर छैनन् भनी संसारका सबै जातिहरूले थाहा पाउनेछन्।
61
तिमीहरू उहाँका प्रजा सदाकाल परमप्रभु हाम्रा परमेश्वरप्रति विश्वासयोग्य रहून् र आजझैँ उहाँका आज्ञा र नियमहरू पालन गर्नू।”
62
त्यसपछि सोलोमन राजा र भेला भएका सबै इस्राएलीहरूले परमप्रभुलाई बलिदान चढाए।
63
राजाले बाईस हजार गाई-गोरु र एक लाख बीस हजार भेडाहरूको मेलबलि चढाए र यसरी राजा र सारा प्रजा मिलेर मन्दिर अर्पण गरे।
64
त्यही दिन तिनले मन्दिर सामुन्नेको क्षेत्र अथवा चोकको मध्यभाग पनि अर्पण गरे। तब तिनले त्यहाँ सम्पूर्ण होमबलि, अन्नबलि र मेलबलिको निम्ति पशुको बोसो बलिदान चढाए। यी सबै बलि चढाउन काँसाको वेदी साह्रै सानो भएको हुनाले मन्दिरको सामुन्नेमा बलिहरू चढाएका हुन्।
65
त्यही मन्दिरमा नै सात दिनसम्म सोलोमन र इस्राएलका सारा प्रजाले छाप्रो बासको चाड मनाए। उत्तरमा लेबो-हमात घाटी र दक्षिणमा मिश्री सिमानासम्म टाढाबाट आएका मानिसहरूको एउटा ठूलो भीड त्यहाँ जमेको थियो।
66
आठौँ दिन मानिसहरूलाई सोलोमनले घर फर्काइदिए। परमप्रभुले आफ्नो सेवक दाऊद र आफ्ना प्रजा इस्राएललाई दिनुभएका सबै आशीर्वादहरूका कारणले तिनीहरू सबै जना राजाको प्रशंसा गर्दै खुसीसाथ घर फर्के।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22